मकवानपुरका तीन किशोरीलाई भारत लैजाँदै गरेको आरोपमा भारतीय नागरिक सलाउद्दीन अन्सारी पक्राउ परेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले भारतको बिहारस्थित पूर्वीचम्पारण जिल्लाको कुण्डवा चैनपुरबाट २३ वर्षीय अन्सारीलाई पक्राउ गरेको हो।
मुख्य सीमा नाकामा सुरक्षा कडा भएपछि ग्रामीण बाटो प्रयोग गरी किशोरीहरूलाई भारत लैजान खोजिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पक्राउ परेका अन्सारीले किशोरीलाई प्रलोभनमा पारी भारत लैजान खोजेको आशंका गरिएको छ।
उद्धार गरिएका किशोरीहरू मकवानपुर राईगाउँका हुन्। उनीहरूमा १५ वर्षीया ज्योशा राई, १६ वर्षीया नवीना परियार र १७ वर्षीया मनीषा विष्ट रहेका छन्।
अन्सारीको साथबाट एउटा इलेक्ट्रिक स्कुटर, पाँच थान मोबाइल, आधार कार्ड, प्यान कार्ड, नेपाली ५१० रुपैयाँ र भारतीय ५२० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्सारी पूर्वीचम्पारणको ढाका थाना क्षेत्रअन्तर्गत हारूनी गाउँका बासिन्दा हुन्।
मोतीहारीका प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातले अदालतबाट कानुनी प्रक्रिया पूरा भएपछि किशोरीलाई नेपाल प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइने बताए। रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालले भारतीय प्रहरीसँग समन्वय भइरहेको र प्रक्रियापछि किशोरीलाई गौर ल्याई अभिभावकको जिम्मा लगाइने जानकारी दिए।
