सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर
सिभिल सहकारी संस्थाका सञ्चालक इच्छाराज तामाङसहित १७ जनालाई काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीश कृतबहादुर बोहराको इजलासले उनीहरूलाई ठगी कसुरमा दोषी ठहर गरेको हो।
अदालतले सजाय निर्धारणका लागि आगामी भदौ २५ गते पेसी तोकेको छ। दोषी ठहर हुनेहरूमा तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हरिहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ र मिना गुरुङ छन्।
उनीहरूले तत्कालीन मुलुकी ऐनको ठगीसम्बन्धी व्यवस्था तथा हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अन्तर्गतको कसुर गरेको अदालतको ठहर छ।
सजाय निर्धारणका लागि भदौ २५ गते पेसी
सजाय निर्धारणअघि अदालतले दुवै पक्षबाट आवश्यक प्रतिवेदन पेस गराउन आदेश दिएको छ। यससँगै, दोषी ठहर भएका १७ जनाको सजायको टुंगो भदौ २५ गते लाग्नेछ।
