सप्तकोसीमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेकमा पुगेको छ। बुधबार राति कोसी ब्यारेजमा यो बहाव मापन गरिएको हो। पूर्वी नेपालमा वर्षा जारी रहेकाले नदीको बहाव थप बढ्न सक्ने अनुमान छ।
बहाव बढेपछि कोसी ब्यारेजका ५६ ढोकामध्ये २१ वटा खोलिएको छ। ब्यारेजमा ५२ मूल ढोका र चार नहरका ढोका छन्। पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघे जोखिमको सङ्केत दिने गरिन्छ। कोसी ब्यारेज नियन्त्रण कक्षले रातो बत्ती बालेर र रातो झण्डा फहराएर सङ्केत दिने गरेको छ।
सप्तकोसीमा तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदीको पानी मिसिन्छ। वर्षायाममा सप्तकोसी भरिन्छ। सुख्खायाममा भने नदी बालुवाले पुरिएको देखिन्छ।
