मंगलबार रातिदेखि बुधबार बिहानसम्मको अविरल वर्षाले उदयपुरका विभिन्न स्थानमा बाढी र पहिरो निम्त्याएको छ। त्रियुगा नगरपालिका–१६ जालपा चिलाउनेस्थित भोर्ले माध्यमिक विद्यालय पहिरोको उच्च जोखिममा परेको छ।
विद्यालयको मुख्य प्रवेशद्वार नजिकै करिब १५ मिटर लामो पहिरो खसेको छ। यसले पक्की भवन र करिब ३ सय विद्यार्थीको सुरक्षामा खतरा बढाएको वडाध्यक्ष मानबहादुर राईले बताए।
वर्षाले त्रियुगा–१६, रौतामाई, लिम्चुङबुङ र ताप्लीका सडक अवरुद्ध पारेको छ। रौतामाई गाउँपालिका–७ मा बाढी–पहिरोले करिब एक दर्जन घरधुरीको धान र मकैबाली नष्ट गरेको छ।
निर्माणाधीन मुर्कुची–रौतापोखरी सडकका विभिन्न खण्ड भत्किएर यातायात पूर्ण रूपमा ठप्प भएको छ। स्थानीयले निर्माणाधीन सडकले माटो खुकुलो पारेर पहिरो निम्त्याएको दाबी गर्दै क्षतिपूर्तिको माग गरेका छन्।
स्थानीय जनप्रतिनिधि र प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी मर्मत, पहिरो नियन्त्रण र राहतका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन्। प्रभावित क्षेत्रका सडक सञ्चालन र जोखिम न्यूनीकरणबारे पत्राचार गरिएको जनप्रतिनिधिहरूले बताएका छन्।
