रास्वपाद्वारा सञ्चारमाध्यम कार्यालय बाहिर शंकास्पद गतिविधिबारे छानबिनको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन ‘शंकास्पद’ रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार जारी विज्ञप्तिमा रास्वपाले आमसञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाब दिने यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको उल्लेख गरेको छ। पार्टीले राज्यको चौथो अंगका रूपमा सञ्चारमाध्यमले निर्भीक रूपमा काम गर्न पाउनुपर्ने बताएको छ।
रास्वपाले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। पार्टीले यस्ता गतिविधिले प्रेस स्वतन्त्रतामा आँच पुग्ने र लोकतन्त्र कमजोर हुने चेतावनी दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विज्ञप्तिमा यस्ता कार्यले सञ्चारकर्मीको मनोबल गिराउने र स्वतन्त्र प्रेसको अभ्यासलाई बाधित गर्ने बताएका छन्।
रास्वपाले यस घटनाको छानबिनका लागि तत्काल उच्चस्तरीय समिति गठन गर्न सरकारसँग माग गरेको छ।
