कान्तिपुर पब्लिकेसन, अनलाइन खबर, हिमालय टेलिभिजनजस्ता सञ्चारगृह र नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअगाडि शंकास्पद गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले यो कार्य राज्यले नागरिकलाई आतङ्कित बनाउने दिशातर्फ अग्रसर भएको भन्दै सरकारको राजकाज सञ्चालन शैलीमाथि प्रश्न उठाएका हुन्।
नेता झाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भने, ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ।’
सञ्चारमाध्यमलाई मनोवैज्ञानिक दबाब दिने वा आतंकित पार्ने उद्देश्यले यो घटना गराइएको भन्दै नेपाल पत्रकार महासंघ र विभिन्न राजनीतिक दलले विरोध जनाएका छन्। प्रहरीले क्रेनको सहायताले ती गाडी हटाएर अनुसन्धान अघि बढाएको छ।
कान्तिपुर पब्लिकेसनको गेटमा बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलेको छ। अनलाइनखबर अगाडि राखिएको गाडी काठमाडौं ठेगाना भएका सुनिल पौडेलको नाममा छ। हिमालय टेलिभिजनको गेटमा पार्किङ गरिएको गाडी डीआर अटो मोबाइल्सको नाममा छ। यो गाडी सानिमा विकास बैंकबाट ऋण लिएको र यसमा राजीवकाजी श्रेष्ठको नाम पनि उल्लेख भएको स्रोतले जनाएको छ।
सत्तारुढ दल रास्वपाका नेताकै गाडी शंकास्पद अवस्थामा भेटिएपछि पार्टीमाथि नैतिक प्रश्न उठेको छ। विवाद बढेपछि रास्वपा सभापति रवि लामिछानेले घटनामा आफ्ना कार्यकर्ता संलग्न भए कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।
