NM Khabar 15 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझीलाई ४ वर्ष, खाणलाई २ वर्ष कैद

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिएको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना सुनाइएको छ।
Arjun Basnet
Arjun Basnet
15 July 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
नक्कली भुटानी शरणार्थी प्रकरण
Share:

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने अपराधमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सुनाइएको छ।

जिल्ला अदालत काठमाडौंले रायमाझी र खाणसहित १६ जनालाई सजाय निर्धारण गरेको हो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले २३ असारमा उनीहरूलाई दोषी ठहर गरेको थियो। रायमाझी ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधमा दोषी हुन्। खाण त्यही अपराधको मतियार ठहरिए।

तत्कालीन गृह सचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार जरिवाना भएको छ। गिरोहका मुख्य योजनाकार केशव दुलाल, सानु भण्डारी र सागर राईलाई समान ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना निर्धारण गरियो।

बिचौलिया सन्देश शर्मा, गोविन्द चौधरी, कांग्रेस नेता आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईविरुद्ध पनि समान ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाइएको छ। राई ७५ वर्ष नाघेकाले ७५ प्रतिशत कैद मिनाहा हुनेछ।

पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र चौधरी, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना भएको छ। ठगी उद्योगमा बेचन झालाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकियो।

१० जेठ २०८० मा रायमाझी र खाणसहित ३० जनाविरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधमा २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो।

अदालतले एक साताअघि १६ जनालाई दोषी, ७ जनालाई सफाइ र ८ जनाविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको थियो। फरार ८ जना पक्राउ परेका बखत कानुनअनुसार हुनेछन्।

नक्कली प्रतिवेदनमा सक्कली बेहोरा थपघट गरेको र भुटानी शरणार्थी भनी नक्कली परिचयपत्र जारी गरेको प्रमाण फेला परेको भन्दै अदालतले लिखत किर्ते कसुर स्थापित भएको ठहर गर्‍यो। नेपाली नागरिकको स्वाभिमानमा आँच पुग्ने गरी राज्यको अन्तर्राष्ट्रिय छविमा दाग लाग्ने कार्य गरी संगठित ठगी गरेको देखिएकाले राज्यविरुद्धको कसुरसमेत पुष्टि भएको अदालतको ठहर छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार