अपडेट (09:24, 2026-10-03)
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते (अक्टोबर ४) दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने भएको छ। यसअघि असोज १६ गतेदेखि सुरु हुने भनिएको महाधिवेशन भारी वर्षा र तल्लो तहका अधिवेशनहरू सम्पन्न हुन नसकेका कारण दुई दिन सारिएको हो।
यसैबीच, निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने समानान्तर रूपमा वडा अधिवेशन सुरु गरेको छ। देउवा समूहले असोज १५ गते (अक्टोबर १) देखि वडा अधिवेशन चलाएको हो। उनीहरूले आफ्नो १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म (डिसेम्बर ७-९) काठमाडौंमा गर्ने निर्णय गरेका छन्।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। गत वर्ष भदौमा भएको ‘जेनजी आन्दोलन’ सँगै आन्तरिक किचलोमा फसेको कांग्रेस एक वर्षमा पनि सम्हालिन नसकेको नागरिक न्युजले जनाएको छ। उक्त आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न बाध्य बनाएको थियो।
युवा र महिला नेतृत्वलाई समेट्ने दबाब बढेपछि नेपाली कांग्रेसले १५औं महाधिवेशनअघि केन्द्रीय कार्यसमितिमा पदाधिकारी संख्या बढाउनेबारे छलफल तीव्र पारेको छ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८३ असोज १८ गतेदेखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुँदैछ। यसअघि विशेष महाधिवेशनले विधान संशोधन गर्दै पदाधिकारीको संख्या १४ बाट बढाएर १७ पुर्याएको थियो। अहिले फेरि पदाधिकारी थप्नेबारे पार्टीमा छलफल चलिरहेको छ।
नेतृत्वमा आकांक्षीहरूको दबाब बढेको छ। ३५ वर्षमुनिका युवा र महिलालाई पदाधिकारीमा समेट्नुपर्ने माग पनि बढेको छ। यसैले पदाधिकारी संख्या बढाउने तयारी भइरहेको कांग्रेसका एक पदाधिकारीले बताए। उनले कान्तिपुरलाई भने, ‘यो पटक ३५ वर्षमुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ। उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनुपर्ने दबाब छ। अर्कातर्फ महिलालाई समेत माथि लानुपर्ने दबाब छ। खुला सहमहामन्त्री हुनुपर्ने माग पनि छ।’
हालको विधानअनुसार, कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ निर्वाचित सहमहामन्त्री, तीन मनोनीत सहमहामन्त्री र एक मनोनीत कोषाध्यक्ष गरी १७ पदाधिकारी छन्। विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमितिको आकार १६४ बाट बढेर २३८ सदस्यीय पुगेको छ, जसमध्ये ६१ केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ।
पदाधिकारीमा युवा र महिलाको प्रतिनिधित्व बढाउने योजना
कांग्रेसले ३५ वर्षमुनिका युवाका लागि सहमहामन्त्रीमा सिट छुट्याउने योजना बनाएको छ। केन्द्रीय कार्यसमिति सदस्यमा पनि ३५ वर्षमुनिका २१ जना युवा चुनिने गरी आरक्षणको व्यवस्था गरिएको छ।
कांग्रेसका अर्का पदाधिकारीका अनुसार, उपसभापति र सहमहामन्त्रीको संख्या बढाएर अरू पदलाई यथावत् राख्न खोजिएको छ। ती पदाधिकारीले भने, ‘एक कि दुई उपसभापति थप्ने भन्नेमा छलफल भइरहेको छ। एक उपसभापति महिलालाई छुट्याउन खोजिएको छ। थप तीन सहमहामन्त्री थप्ने तयारी छ। त्यसो गर्दा सहमहामन्त्रीको संख्या १४ पुग्नेछ।’ विशेष विज्ञ (ल्याटरल इन्ट्री) बाट एक सहमहामन्त्री राख्नुपर्ने माग पनि उठेको छ।
नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पदाधिकारी बढाउने विषयमा छलफल भइरहेको तर निर्णय भइनसकेको बताइन्। उनले भनिन्, ‘कांग्रेसको नेतृत्व लिन देशभरबाट जुन ढंगको उत्साह बढेको छ, त्यसलाई व्यवस्थापन गर्न, पार्टीलाई अझ बढी समावेशी बनाउन र युवाको उत्साह मर्न नदिन पनि पदाधिकारीको संख्या बढाउने विषयलाई सकारात्मक रूपमा लिनुपर्छ।’
पदाधिकारी संख्या बढाउने वा यथावत् राख्ने भन्नेबारे १५औं महाधिवेशनको बन्द सत्रमा छलफल गरी निर्णय गरिनेछ। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ। समितिले विधान संशोधनको प्रस्ताव तयार गर्नेछ। यो प्रस्तावलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि महाधिवेशनमा लगिनेछ र महाधिवेशनबाट अनुमोदन भएपछि कार्यान्वयन हुनेछ।
१५औं महाधिवेशनका लागि उम्मेदवार मनोनयन दर्ता २०८३ असोज १९ गते दिउँसो २ बजेदेखि हुनेछ। उपसभापति र सहमहामन्त्रीको संख्या कति थप्ने भन्नेबारे कांग्रेसले अझै टुंगो लगाएको छैन, न त यो प्रस्ताव महाधिवेशनबाट अनुमोदन हुने निश्चित छ।
