काठमाडौं जिल्ला अदालतले मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेपछि सजाय निर्धारणका लागि बिहीबार पेसी तोकिएको छ।
यसअघि २०८२ साउनमा जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो। अहिराज पूर्वपत्रकार तथा मधेशवादी राजनीतिज्ञ हुन्। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई २०७७ फागुन ७ मा मधेस प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।
एक महिलाले ४ जेठ २०८१ मा उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन्। घटना काठमाडौंको नयाँबानेश्वरस्थित आफ्नै डेरामा भएको थियो। अहिराजले भने आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध उल्टै मुद्दा हालेका थिए।
प्रहरीले ४ साउन २०८२ मा उनलाई पक्राउ गरेको थियो। सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा अभियोजन गरेको थियो। त्यसयता उनी डिल्लीबजार कारागारमा थुनामा छन्।
