मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

चोलेन्द्र जबरासँग जोडिएका बिचौलिया इनाम सापकोटामाथि प्रहरी अनुसन्धान

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको साँठगाँठ र न्यायिक विचौलियाको आरोपमा इनाम सापकोटालाई प्रहरीले पक्राउ गरी केरकार गरेको छ। अनुसन्धानमा सापकोटाले जबराले आफूलाई प्रयोग गरेको बयान दिएका छन्।
Arjun Basnet
Arjun Basnet
3 October 2026, 3:18 am १ मिनेट पढाइ
आकार:
इनाम सापकोटा, चोलेन्द्र जबरा
Share:

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको साँठगाँठ र न्यायिक विचौलियाको भूमिकामा रहेको आरोप लागेका इनाम सापकोटालाई प्रहरीले पक्राउ गरी विस्तृत अनुसन्धान गरेको छ। प्रहरीले सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली जाँदै गर्दा असोज ११ गते मध्याह्न पक्राउ गरेको थियो।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत थापा र डीएसपी योगराज खतिवडाले पूर्वप्रधानन्यायाधीश जबरालाई असोज ११ गते बिहान महाराजगञ्जबाट नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा लगेका थिए। सुरक्षा चुनौती देखाउँदै नियन्त्रणमा लिएको दाबी गरे पनि जबराको मोबाइल जाँच गर्दा सापकोटासँग बाक्लो सम्पर्क देखिएपछि उनी अनुसन्धानको घेरामा परेका थिए। करिब १२ घण्टा नियन्त्रणमा राखेपछि जबरालाई मोबाइल फिर्ता गरेर छाडिएको थियो।

सापकोटाले स्वीकारे ‘प्रयोग भएको’

जबरासँगको बाक्लो सम्पर्क खुलेपछि विशेष ब्युरोले सापकोटालाई प्रहरी प्रधान कार्यालयमा लगेर लामो केरकार गरेको थियो। प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार, सोधपुछका क्रममा सापकोटाले ‘चोलेन्द्रले मलाई प्रयोग गरे’ भनी बयान दिएका छन्। सापकोटालाई लामो समय सोधपुछ गरी उनको मोबाइलको विवरण हेरेपछि प्रहरीले छाडेको थियो।

प्रारम्भिक अनुसन्धानबाट सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग जबराको कुराकानी सापकोटामार्फत हुने गरेको देखिएको छ। नक्खु कारागारमा रहेका दीपक भट्ट र सापकोटाबीच फोन सम्पर्क भएको प्रमाण पनि प्रहरीले फेला पारेको छ। यी व्यवसायीसँगको डिलमा जबराका छोराको पनि संलग्नता देखिएको प्रहरी स्रोतले जनाएको छ।

प्रमाण र लेनदेनको जालो

इनाम सापकोटा र चोलेन्द्र जबराबीच ह्वाट्सएपमा कुराकानी हुने गरेको प्रमाण प्रहरीले भेट्टाएको छ। सापकोटाको ह्वाट्सएपमा रकम लेनदेन (ट्रान्जेक्सन) भएको विवरणसमेत फेला परेको छ। उनले आफ्ना एक सहकर्मीलाई ‘५० लाख रकम आएको छ’ भनी म्यासेज पठाएको भेटिएको छ। यद्यपि, सापकोटाले जबराको बैंक खातामा रकम पठाएको भने अहिलेसम्म भेटिएको छैन।

प्रहरी स्रोतका अनुसार, जबराको निर्देशनमा सापकोटाले ‘बिचौलिया’को काम गर्दै आएका थिए। पछिल्लो समय दीपक भट्ट र सुलभ अग्रवालको मुद्दा मिलाउन उनीहरूसँग पुलको काम सापकोटाले गरेको देखिएको छ। कारागारबाट भट्टले सापकोटालाई फोन गरेको विवरण पनि प्रहरीले फेला पारेको छ।

२०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ गते संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए। नेपालको न्यायिक इतिहासमा बहालवाला वा पूर्वप्रधानन्यायाधीशमाथि यसरी अनुसन्धान भएको यो पहिलो घटना हो। प्रहरीका एक उच्च अधिकृतले जबरालाई थुनामुक्त गरिए पनि उनीसँग जोडिएको विषयमा अनुसन्धान जारी रहेको बताएका छन्।

‘उहाँबारे थप बुझ्ने काम भइरहेको छ,’ ती अधिकृतले भने।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार