भारतमा परीक्षा प्रश्नपत्र चुहावटको विरोधमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै अनशनरत सामाजिक कार्यकर्ता सोनम वाङचुकको स्वास्थ्य नाजुक बनेको छ। अनशनको १७औँ दिनमा उनको अवस्था थप चिन्ताजनक भएको छ।
मध्य दिल्लीमा ‘युवा ककरोच जनता पार्टी (सीजेपी)’ का संस्थापकसँग मिलेर धर्नामा बसेका वाङचुकले मे महिनामा लाखौँ विद्यार्थीलाई प्रभावित पारेको प्रश्नपत्र चुहावट घटनालाई लिएर शिक्षामन्त्रीको राजीनामा माग गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्धको यो प्रदर्शन दुर्लभ मानिएको छ।
५९ वर्षीय वाङचुक बोल्नसमेत नसक्ने गरी कमजोर भएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक तस्बिरमा चिकित्सकहरूले उनलाई घेरेको देखिन्छ। सीजेपीका अनुसार मंगलबारसम्म उनको तौल ८.५ किलोग्राम घटेको छ।
“हामी सोनमलाई अनशन फिर्ता लिन मनाउन प्रयास गरिरहेका छौँ। तर उहाँ अडिग हुनुहुन्छ,” सीजेपीका संस्थापक अभिजीत दिपकले भने। उनले सोनमले जुलाई २० मा संसदतर्फ मार्चको तयारी गर्न भनेको र सरकारले उनीहरूलाई मर्न दिन चाहेको आरोप लगाए।
जन्तर मन्तरको विरोध स्थलमा भोक हडतालमा बसेका एक युवा सोमबार बेहोस भएपछि अस्पताल भर्ना भएका थिए। शिक्षामन्त्री प्रधान, मन्त्रालय र सरकारका प्रवक्ताले भने कुनै प्रतिक्रिया दिएका छैनन्।
विपक्षी दलका प्रमुख नेताहरूले वाङचुकको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेका छन्। शिवसेना प्रमुख उद्धव ठाकरेले फोनमार्फत स्वास्थ्यबारे सोधपुछ गर्दै अनशन अन्त्य गर्न अपिल गरेका छन्। उनले सीजेपी र जुलाई २० को संसद मार्चमा समर्थन जनाएका छन्।
आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवालले पनि फोन सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनले सीजेपीको विरोध प्रदर्शन र संसद मार्चमा समर्थन जनाएका छन्। तृणमूल कांग्रेस (टीएमसी) प्रमुख ममता बनर्जीले वाङचुकसँग कुरा गर्दै विद्यार्थीहरूको न्यायका लागि भइरहेको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गरेकी छन्।
उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले ‘एक्स’ मा लेख्दै वाङचुकको जीवन मानवता, वातावरण र लोकतन्त्रप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताएका छन्।
सीजेपीले आफूलाई ‘अल्छी, बेरोजगार र कालान्तरमा सही’ को प्रतिनिधित्व गर्ने संस्थाका रूपमा चिनाउँछ। यसको तीव्र अनलाइन वृद्धिले भारतका युवामा रहेको निराशालाई प्रतिविम्बित गर्छ। सरकारी तथ्यांकअनुसार सन् २०२५ मा भारतमा १५ देखि २९ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर करिब १० प्रतिशत छ, जुन सहरी क्षेत्रमा १३.६ प्रतिशतसम्म पुगेको छ।
प्रश्नपत्र चुहावटका कारण २३ लाख उम्मेदवारले दिएको मेडिकल कलेज परीक्षा रद्द भएपछि युवाहरू आक्रोशित छन्। उक्त परीक्षा गत महिना पुनः आयोजित गरिएको थियो।
